काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको अवस्था हुँदाहुँदै अचानक बीचमै रहस्यमय ढङ्गले हस्ताक्षर र मिति घोषणा गरेर कांग्रेसमा षड्यन्त्रपूर्वक र योजनाबद्ध ढङ्गबाट अनपेक्षित चिरा पार्ने काम गरिएको बताएका छन्।
कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आक्रमणमा परेर जीवनमरणको सङ्घर्ष गर्दै अस्पतालमा बसेका सभापति शेरबहादुर देउवालाई नेतृत्व छाड्न र आफूमा नेतृत्व हात पार्न महामन्त्रीद्वयको निरन्तर दबाब आइरहेको बताएका छन्।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले झण्डै दुई तिहाइ बहुमतका साथ सत्तामा आएको दलको आदर्श, सिद्धान्त, कार्यक्रम र कार्यनीति नै स्पष्ट नभएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । नेपाली कांग्रेस इतरपक्षको राष्ट्रिय भेलाको दोस्रो दिन शनिबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै निधिले नयाँ पार्टी र नयाँ प्रतिनिधिहरूको बाहुल्यका कारण शासकीय क्षेत्रमा परिपक्वताको अभाव देखिएको टिप्पणी गरे ।
निधिले लोकतान्त्रिक समाजवादको सट्टा सामाजिक लोकतन्त्रको अवधारणा अघि सार्ने प्रयासलाई पश्चगमनकारी भएको टिप्पणी गरे । प्रदेश तथा स्थानीय तह खारेज गर्ने वा तिनलाई कमजोर बनाउने कुनै पनि प्रयास संघीयता र संविधानको मर्मविपरीत हुने उनको दाबी छ । उनले बहुमतको बलमा शासन सञ्चालन गर्दैमा लोकतान्त्रिक मूल्य र संवैधानिक प्रणालीलाई बेवास्ता गर्न नमिल्ने बताए । राष्ट्रिय सार्वभौमिकताको रक्षा, संसद्को मर्यादा, स्वतन्त्र न्यायालयको गरिमा तथा प्रशासनयन्त्रको कानुनसम्मत परिचालन सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।
सुरक्षा निकायको प्रयोगमा संवेदनशीलता र जिम्मेवारी देखाउनुपर्ने तथा नागरिकलाई सुशासनको अनुभूति हुने गरी सरकार पारदर्शी र जवाफदेही बन्नुपर्ने निधिले बताए । आम नागरिकका आवश्यकता सम्बोधन गर्ने सवालमा समेत सरकार गम्भीर हुनुपर्ने उनले बताए ।





