Logo
७ भाद्र २०८३, आईतवार
|  Mon Aug 24 2026

कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता: प्रचण्ड


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका छन् ।आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले देशको परिस्थिति असाधारण रहेको र राष्ट्रिय स्वाधीनताको विषय निकै ठूलो संकटबाट गुज्रिरहेको बताए ।

लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरू खोसिँदै गएको तथा त्यसैमाथि विभिन्न खालका साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिको दबाब तथा हस्तक्षेप बढिरहेको उनको भनाइ थियो ।यस्तो अवस्थामा विचार मिल्ने शक्तिहरूबीच पार्टी एकता, तत्कालका निश्चित विचार र मुद्दामा सहमति राख्ने शक्तिहरूबीच सहकार्य तथा विगतमा शान्ति र संविधानका पक्षमा र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा सहकार्य गरेका शक्तिहरूबीच मोर्चा आवश्यक रहेको उनले बताए ।

उनले उर्वर रूपमा अगाडि बढिरहेको कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुग्नुका साथै ठूलो धक्का र संकटमा पर्नुको मूल कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताए ।
इतिहास, वर्ग संघर्ष र राजनीतिक संघर्षले आफूहरू सबैलाई त्यसबारे समीक्षा गर्ने ठाउँमा ल्याइपुर्याएको उनको भनाइ थियो ।

प्रचण्डले गत भदौ २३ र २४ गते भएको विध्वंसको घटनाले प्रतिक्रान्तिको भयानक विभीषिका देखाएको बताए । उक्त घटनाबाट समेत अनुभव लिएर कम्युनिस्टहरूले आफ्ना गम्भीर त्रुटिहरूबारे समीक्षा गर्नुपर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार