काठमाडौँ । प्रधानमन्त्री बालेन साहले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको बताएका छन् । सामाजिक संजालमार्फत प्रधाानमन्त्रीले विपद्को सामना गर्न राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरिएको जानकारी दिँदै प्रभावित नागरिकलाई धैर्य र संयम अपनाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री साहका अनुसार बिहीबार बिहान ६ः३० बजेदेखि उद्धारका लागि हवाई उडान सुरु गरिएको हो । हालसम्म १५ भन्दा बढी उडान भइसकेका छन् भने थप हेलिकोप्टरहरू उद्धारका लागि तयारी अवस्थामा राखिएका छन् ।
नेपाली सेनाले बिहान सञ्चालन गरेको उद्धार अभियानमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरिएको उनले जानकारी दिएका छन् । उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन् । यस्तै, टनेलबाट सात जना नेपाली नागरिकलाई समेत उद्धार गरिएको छ ।
प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम–ढुंगा काट्ने मेसिनलगायत अत्यावश्यक सामग्री पु¥याउने काम भइरहेको प्रधानमन्त्री साहले बताएका छन् ।प्रभावित क्षेत्रमा छिट्टै मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था गरिने उनले जानकारी दिएका छन् । नुवाकोटमा अस्थायी शिविर तयार गरी खाना तथा पानीको व्यवस्था गरिएको छ ।
ड्रोन सर्वेमार्फत प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी संकलन अन्तिम चरणमा पुगेको भन्दै प्रधानमन्त्री साहले यसबाट उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताएका छन् ।हेलिकोप्टरबाट उद्धार गर्दा सिकिस्त, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने उनले बताएका छन् । प्रधानमन्त्री साहले विपद्को सामना गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिँदै उद्धार तथा राहत कार्यमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।








