अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवा बाढीबाट प्रभावितको तत्कालको उद्धार, राहत तथा दीर्घकालीन पुनर्निर्माणका लागि आन्तरिक र बाह्य दुवैतर्फबाट बजेटको सुनिश्चितता भइसकेको बताएका छन् । । बिहीबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको बैठकपछि जानकारी दिँदै उनले मुलुकमा आइपरेको प्राकृतिक विपद्को सामना गर्न सरकारसँग स्रोत र साधनको कुनै अभाव नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्री वाग्लेका अनुसार, चालु आर्थिक वर्षको बजेटमा विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड र गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड रुपैयाँ सुरक्षित रहेकाले तत्काल राहत र उद्धारमा कुनै कमी नहुने अर्थमन्त्री वाग्लेले बताएका छन् ।
अर्थमन्त्री वाग्लेले २०७२ सालको भूकम्पपछिको सफल पुनर्निर्माणको अनुभवलाई मध्यनजर गर्दै अहिले पनि वैज्ञानिक तथ्य र अध्ययनका आधारमा पुनर्निर्माणको महाअभियान सञ्चालन गर्ने बताए ।राष्ट्रिय संकटको घडीमा सम्पूर्ण राजनीतिक दलहरू एकै ठाउँमा उभिनु नेपाली राजनीतिको सकारात्मक पक्ष भएको भन्दै उनले यस संकटलाई सम्पूर्ण समाजको अवधारणाअनुरूप सरकार, राजनीतिक दल, नागरिक समाज र निजीक्षेत्र सबै एकीकृत रूपमा अघि बढ्नुपर्ने उनले बताए ।








