Logo
१२ भाद्र २०८३, शुक्रबार
|  Fri Aug 28 2026

केरुङ पहिरो:उद्धार र जोखिम नियन्त्रणलाई तीव्रता,नेपाललाई सहयोग गर्ने घोषणा


काठमाडौँ । चीनले बाढी पहिरोबाट प्रभावित नेपाललाई आपतकालीन सहायता उपलब्ध गराउने निर्णय गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा शुक्रबार बसेको पार्टी नेतृत्वको बैठकको नेपालमा आपतकालीन सहायता पठाउने निर्णय गरेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बैठकले विपद् उद्धारका लागि अन्तर्राष्ट्रिय सहकार्य अघि बढाउने निर्णय समेत गरेको छ । बैठकका अध्यक्षता गर्दै राष्ट्रपति सीले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका छन् ।

बैठकमा उनले दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने केरुङ काउन्टीमा गएको विनाशकारी पहिरोपछि जारी उद्धार तथा राहत कार्यबारे जानकारी लिएका थिए । बैठकले पार्टी केन्द्रीय समितिको नेतृत्वमा आपतकालीन उद्धार कार्य तीव्र, व्यवस्थित र समन्वयात्मक रूपमा भइरहेको जनाएको छ।

प्रभावित नागरिकको पुनःस्थापना तथा विपद्पछिको व्यवस्थापनलाई पनि प्राथमिकताका साथ अघि बढाइएको बताइएको छ । केरुङ क्षेत्र अत्यधिक चिसो पठारी भूभाग, भिरालो खोँच, परिवर्तनशील मौसम, हिमनदी तथा हिमताल र सम्भावित भौगर्भिक जोखिमका कारण उद्धारका लागि चुनौतीपूर्ण रहेको बैठकमा उल्लेख गरिएको छ।

सम्बन्धित सबै निकायलाई प्रभावकारी रूपमा उद्धार कार्य अघि बढाउन निर्देशन दिँदै बैठकले बेपत्ता भएका चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारमा सम्पूर्ण प्रयास गर्न जोड दिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार