Logo
१६ भाद्र २०८३, मंगलवार
|  Tue Sep 1 2026

बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्य नियुक्त


काठमाडौं । नेपाल सरकार संस्कृती ,पर्यटन तथा नागरिक उडडयन् मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट श्री बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा नियुक्त सुरेन्द्र बज्राचार्यले पदभार ग्रहण गर्नु भएको छ ।

आज एक समारोहकाबिच समितिको केन्द्रिय कार्यालय बौद्धमा पुगी अध्यक्ष बज्राचार्यले पदभार ग्रहण गर्नु भएको हो । अध्यक्ष बज्राचार्यले पदभार ग्रहणसँगै बौद्धनाथ क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई थप उजागर गर्दै यस क्षेत्रका संरक्षण, विकास र प्रवर्द्धनमा प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँले बौद्धनाथ क्षेत्रको मौलिकता र सम्पदाको संरक्षणसँगै यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि थप व्यवस्थित वातावरण निर्माण गर्न सबै पक्षसँग सहकार्य गर्ने समेत बताउनुभयो। यससँगै, आगामी दिनमा बौद्धनाथ क्षेत्रको संरक्षण, विकास, व्यवस्थापन तथा धार्मिक–सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

यसैगरी कार्यकारी निर्देशकमा आचार्य नुर्बु शेर्पालाई नियुक्त गरेको छ ।समितिको सदस्यहरूमा खेन्पो शेनाङ्ग ग्याम्जो तामाङ, विशाल लामा,मणीभद्र पोखरेल र रोशनकुमार श्रेष्ठ नियुक्त गरिएको छ । बौद्धनाथ सन् १९७९ देखि यूनेस्को विश्व सम्पदा सूचीमा सुचिकृत धार्मिक ऐतिहासिक एवं सांस्कृतिक धरोहर हो । यो विश्वभरीका बौद्धमार्गीहरूको आस्थाको केन्द्र पनि हो ।

बौद्धनाथ समिति, विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले मिति २०५३ मा गठन गरेको हो ।समितिको गठन भएपछि यस स्तूप एवं परिसरको संरक्षण व्यवस्थापनको कार्य हुँदै आएको छ । यस क्षेत्रको मूर्त सम्पदा महत्व पूर्ण भए जस्तै यहाँका अमूर्त सम्पदा महत्वपूर्ण छन् ।

समितिको काम कर्तव्यअन्तर्गत बौद्ध धर्मसम्बन्धी योजना तथा कार्यक्रमहरु स्वीकृत गरी कार्यान्वयन गर्ने गराउने, विदेशी सरकार, राष्ट्रिय वा अन्तरराष्ट्रिय सङ्घ, संस्था वा व्यक्तिहरुसँग सम्पर्क र समन्वय गर्नेलगायतका काम गर्ने, गराउने जस्ता कर्तव्य तोकिदिएको छ ।

गठन आदेशबमोजिम समितिको उद्देश्य पूर्तिको लागि गर्नुपर्ने अन्य कार्यहरू यिनै उद्देश्य तथा काम कर्तव्यभित्र रही श्री बौद्धनाथ महाचैत्य, यसको परिसर, शान्ति वाटिका, बुद्ध धर्म, यहाँ आउने पर्यटक तथा धर्मावलम्बी र यिनै कुराहरुको प्रगति, उन्नति, प्रचारप्रसार आदि कार्य समितिले स्थापना कालदेखि गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार