Logo
२३ भाद्र २०८३, मंगलवार
|  Tue Sep 8 2026

जेन–जी आन्दोलनको आँधीले कोरेको मर्मबाट एक इन्च पनि विचलित हुँदैनौँ : रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन–जी आन्दोलनले उठाएका विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानका मुद्दाबाट आफूहरू एक इन्च पनि विचलित नहुने बताएका छन् ।

जेन–जी आन्दोलनको एक वर्ष पुगेको अवसरमा मंगलबार वक्तव्य जारी गर्दै लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताविरुद्ध युवा पुस्ता सडकमा उत्रिएको बताएका हुन् ।

उनले आन्दोलनलाई परम्परागत राजनीतिक शैलीप्रतिको युवापुस्ताको स्पष्ट ‘अस्वीकृति पत्र’को संज्ञा दिएका छन् । उनका अनुसार डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको र आफ्नै देशभित्र भविष्य खोजिरहेको युवापुस्ताले कुशासन स्वीकार नगर्ने सन्देश आन्दोलनमार्फत दिएको थियो ।

लामिछानेले जेन–जी आन्दोलन कुनै राजनीतिक दलको आह्वानमा नभई स्वस्फूर्त रूपमा भएको दाबी गर्दै त्यसलाई कुनै पनि दल वा नेताले आफ्नो राजनीतिक लाभको औजार बनाउन नहुने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार