काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भाद्र २३ को दमन र २४ गतेको हिंसाका दोषीहरूलाई निष्पक्ष छानबिन गरी सजाय नदिएसम्म राज्य जवाफदेही हुन नसक्ने बताएका छन् ।बीपी स्मृति दिवसको अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै सभापति थापाले राज्यमा दण्डहीनताले प्रश्रय पाउनु नहुने बताएका हुन् ।
उनले भदौ २३ गते शान्तिपूर्ण आन्दोलनमाथि भएको राज्य दमन र आन्दोलनमा घुसपैठ गरी हिंसा भड्काउनेहरूको पहिचान गर्नुपर्ने बताए । त्यस्तै, उनले भदौ २४ गते सिंहदरबार, अदालतलगायत सार्वजनिक संरचनामा भएको ध्वंसबारे पनि निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए ।
उनले भने, ‘यो विषयसँग सम्बन्धित केही प्रश्नहरू छन्, जुन प्रश्नहरू अनुत्तरित छन्। ती प्रश्नहरूको उत्तर खोजिनुपर्छ। नभए सिंगो समाजले यसको मूल्य चुकाउनुपर्छ भन्ने म ठान्छु । भाद्र २४ भन्दा पहिला भाद्र २३ आउँछ। भाद्र २३ का बारेमा हिजो मैले केही कुरा राखिसकेको छु । भाद्र २३ भनेको नौजवान युवाहरूले आफ्नो आक्रोश व्यक्त गरेको दिन थियो। अदम्य साहस प्रकट गरेको दिन थियो। जेनजी युवाहरूको विद्रोहको दिन थियो । त्यो दिन ती युवाहरूमाथि राज्यको चरम दमन भएको थियो। त्यो दिन शान्तिपूर्ण आन्दोलनभित्र घुसपैठ गरेर त्यसलाई उक्साउने काम भएको थियो। ती उक्साउनेहरू को थिए ? तिनको पहिचान हुनुपर्छ। त्यो दमन गर्नेहरूले सजाय पाउनैपर्छ।’
उनले नेपालले अहिलेसम्म कहिल्यै नदेखेको ध्वंस त्यो दिन देखेको भन्दै त्यसको पछाडि को थियो भन्ने जान्न पाउनुपर्ने बताए ।उनको प्रश्न थियो, ‘को थिए सिंहदरबार जलाउने ? को थिए अदालत जलाउने ? को थिए त्यो दिन त्यत्रो ठूलो ध्वंस गराउने र उक्साउने ? को थियो योजना बनाउने ? किन आज कोही चुइँक्क बोल्दैन ? अनि त्यत्रो ठूलो राज्य संयन्त्र क्षणभरमा काम नलाग्ने कसरी भयो ? यसको खोजी हामीले गर्नु पर्दैन ?’








