काठमाडौँ । संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि काठमाडौँ उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय भएको छ । बुधबार काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बस सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख, यातायात सेवा प्रदान गर्ने साझा यातायात र सरोकारवाला अधिकारीबीचको बैठकले यो निर्णय गरेको हो ।
काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको समन्वयमा गएको वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएका छन् । यो सेवालाई विस्तार गरेर उपत्यकाको उत्तर दक्षिण र पूर्व पक्षिम दुवै भागलाई जोड्ने गरी गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, एअरपोर्टदेखि चन्द्रागिरीको नागढुङ्गासम्म ४ वटा बस, कीर्तिपुरदेखि काठमाडौँको नयाँ सडक नेपाल बायु सेवा निगमसम्म ४ वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस सञ्चालन हुनेछन् ।
चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपियाँ भाडा लाग्नेछ । उनको प्रस्तावलाई पारित गर्दै बैठकले वित्तीय साझेदारीमा सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकमा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले, अहिले अभ्यास गरिएको यातायात सेवा यात्रुका लागि भरपर्दो सेवा भएको बताउँदै नगरपालिकाहरुको सहभागिता बढ्दै जाँदा लागत कम हुने भएकोले कसैलाई धेरै भार नहुने धारणा राखे ।
त्यस क्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले, सेवा सञ्चालन गरिएपछि लाभ लागतको मासिक समीक्षा गरेर सेवाको दिगोपनाका लागि काम गर्दै जानु पर्ने बताए । छलफलका क्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले, ललितपुरको चापागाउँ, लामाटार, लुभुसम्म रुट विस्तारको सम्भावनामा छलफल गर्नुपर्ने बताए ।
बैठकले, रात्रिकालिन बस सेवा सञ्चालनको रुट परमिट सहजताका लागि विद्यमान यातायात सम्बन्धी कानुनमा समय सापेक्ष संशोधनका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने, रात्रिकालिन सहरी जीवन प्रवद्र्धन गर्न काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्रका सार्वजनिक स्थलहरुमा जात्रा पर्व, मेला, महोत्सव आयोजना गरी रात्रिकालीन जीवनशैलीलाई सक्रिय बनाउने निर्णय गरेको छ ।
यस्तै, साझा यातायातमार्फत हुने सेवालाई थप प्रभावकारी बनाउन, यात्रु संख्या वृद्धि गर्न, गन्तव्य स्थलमा चार्जिङ स्टेशन निर्माण गर्न तथा रात्रिकालिन बस पार्कको व्यवस्थापनका लागि सम्बद्ध स्थानीय तहले आवश्यक सहयोग तथा सहजीकरण गर्ने निर्णय भएको छ ।








