रोयटर्स । इरान–अमेरिका युद्ध सुरु भएयता पानीजहाजमाथि सबैभन्दा ठूलो आक्रमण भएको छ । इरानले स्ट्रेट अफ हर्मुज नजिक १० वटा पानीजहाजमाथि आक्रमण गरेको जनाएको छ भने त्यसअघि अमेरिकाले पाँचवटा इरानी तेल ट्याङ्कर डुबाएको थियो ।
आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ। जुलाईपछि पहिलोपटक यसको मूल्य यो स्तरमा पुगेको हो। घटनामा कम्तीमा एक नाविकको मृत्यु भएको र अर्का एक जना बेपत्ता रहेको जनाइएको छ।
इरानले जोर्डनस्थित अमेरिकी सैन्य अखडामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको पनि जनाएको छ। जोर्डनका अनुसार १८ वटा क्षेप्यास्त्र आकाशमै रोकिएका थिए भने दुईवटा जनविहीन क्षेत्रमा खसेका थिए। अमेरिकी अधिकारीका अनुसार सबै अमेरिकी सैनिक सुरक्षित छन्।
इरानको रिभोलुसनरी गाड्र्सले थप आक्रमण भए प्रतिक्रिया झन् कडा बनाउने चेतावनी दिएको छ। उसले पाकिस्ताननजिकैको चाबहारसम्म फैलिने नयाँ समुद्री निषेधित क्षेत्रको नक्सा सार्वजनिक गर्ने जनाएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचन प्रभावित पार्न खोजेको आरोप लगाएका छन्। उनले निर्वाचनपछि युद्ध तत्काल अन्त्य हुने दाबी गर्दै इरान लामो समय युद्ध धान्न नसक्ने बताएका छन्।
यसैबीच, द वाल स्ट्रिट जर्नलले ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले युद्ध ट्रम्पको कार्यकालको बाँकी अवधिसम्म लम्बिन सक्ने चेतावनी दिएको जनाएको छ। रायटर्सले भने उक्त समाचार स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।यमनमा साउदी अरब र हुथी विद्रोहीबीचको लडाइँ पनि पछिल्ला दिनमा तीव्र बनेको छ। यसले मध्यपूर्वबाट हुने विश्वव्यापी ऊर्जा आपूर्तिमा थप जोखिम बढाएको छ।








