काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी (रास्वपा) सांसद खगेन्द्र कर्णले सडकमै महिलाले बच्चा जन्माएको घटनाका विषयमा सरकारको जवाफ माग गरेका छन् ।बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद कर्णले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटना संसदमा उठाएका हुन् ।
उनले सुत्केरी व्यथा लागेपछि महिला अस्पताल गएको तर पैसा नभएका कारण अस्पतालले भर्ना लिन नलिएको भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीका गरिब, विपन्न, असहाय तथा निम्न आय भएका नागरिकका लागि स्वास्थ्य उपचारको भरोसाको केन्द्र भए पनि यस्ता घटनाले स्वास्थ्य प्रणालीमै गम्भीर कमजोरी रहेको देखाएको छ । एउटा महिला पैसाको अभावका कारण अस्पताल बाहिर आफ्ना बच्चा जन्माउनुपर्ने अवस्था आएको छ । हामी स्वास्थ्यमा ठूला–ठूला कुरा गरेर बसिरहेका छौँ ।’ राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवानले पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माउन विवश भएको उनले बताए ।








