काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।
मन्त्री मेहताले घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन टोली राजविराज पठाइएको जानकारी दिएकी छन् । मन्त्रालयले अस्पतालसँग घटनाबारे स्पष्टीकरणसमेत माग गरेको छ ।उनले हरेक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमै उपचार, सम्मान र मानवीय व्यवहार पाउने अधिकार रहेको बताउँदै घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको उल्लेख गरेकी छन् ।
‘घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता बाहिर ल्याइनेछ,’ उनले भनेकी छन्, ‘छानबिनका क्रममा गल्ती वा लापरबाही देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।’स्वास्थ्य सेवामा नागरिकको विश्वास र अधिकारप्रति मन्त्रालय सदैव संवेदनशील र प्रतिबद्ध रहेको पनि मन्त्री मेहताले बताएकी छन्।








