काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले सार्वजनिक खरिद प्रक्रियालाई प्रभावकारी र पारदर्शी बनाउन प्रयोग हुँदै आएको इलेक्ट्रोनिक सिस्टम तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै २०७० सालदेखि सञ्चालनमा रहेको इजिपी प्रणाली अहिले बन्द गरिएको भन्दै आपत्ति जनाए।अहिले संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक खरिद प्रक्रिया प्रभावित भएको उनको भनाइ छ। इजिपी प्रणाली ह्याक भएको कारण बन्द गर्न लागिएको भन्ने जानकारी आफूहरूले पाएको भन्दै त्यसबारे तत्काल छानबिन गर्न सरकारसँग माग गरे।
ह्याकिङमा संलग्न जोसुकै व्यक्ति भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ।उनले इजिपी प्रणालीको विकल्पमा नयाँ प्रणाली ल्याउने नाममा पुरानो प्रणालीलाई नै कोल्याप्स गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिए।उनले यस प्रणालीमा भएको भनिएको ह्याकिङ तथा त्यससँग सम्बन्धित गतिविधिको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे।








