Logo
२८ भाद्र २०८३, आईतवार
|  Sun Sep 13 2026

ट्विन टावर हमलाको २५ वर्ष : अमेरिकामा स्मृतिसभा र मौनधारण


वासिङ्टन । अमेरिकाले सेप्टेम्बर ९/११ आतंकवादी हमलाको २५औँ वार्षिकीका अवसरमा घटनामा ज्यान गुमाउने करिब ३ हजार व्यक्तिको सम्झनामा विभिन्न स्मृति कार्यक्रम आयोजना गरेको छ।

२५ वर्षअघि अपहरण गरिएका विमानहरू न्युयोर्कस्थित वल्र्ड ट्रेड सेन्टर, पेन्टागन र पेन्सिलभेनियाको शाङ्क्सभिलमा खस्दा करिब ३ हजार मानिसको मृत्यु भएको थियो।राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागनमा आयोजित स्मृति समारोहमा सहभागिता जनाए । उपराष्ट्रपति जेडी भान्स न्युयोर्कस्थित वल्र्ड ट्रेड सेन्टरको घटनास्थलमा आयोजित कार्यक्रममा सहभागी भए।

कार्यक्रममा आक्रमणका बेला राष्ट्रपति रहेका जर्ज डब्ल्यू बुससँगै पूर्वराष्ट्रपतिहरू जो बाइडेन, बाराक ओबामा र बिल क्लिन्टन पनि सहभागी भए।

आक्रमण भएको समयलाई सम्झाउँदै मौनधारण गरिएको थियो भने मृतकहरूको नाम वाचन गरिएको थियो। शुक्रबार साँझ म्यानहटनको आकाशमा दुईवटा प्रकाशपुञ्ज प्रक्षेपण गरी ‘ट्रिब्युट इन लाइट’ कार्यक्रमसमेत आयोजना गरियो।पेन्टागनमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ९/११ मा ज्यान गुमाउनेहरूलाई कहिल्यै नबिर्सने प्रतिबद्धता व्यक्त गरे।

पेन्सिलभेनियाको शाङ्क्सभिलमा पनि स्मृति कार्यक्रम आयोजना गरियो। यात्रुहरूले अपहरणकारीविरुद्ध प्रतिकार गरेपछि फ्लाइट ९३ त्यहाँ दुर्घटनाग्रस्त भएको थियो।९/११ का बेला वल्र्ड ट्रेड सेन्टरको साउथ टावरमा कार्यरत जेनिस ब्रुक्सले पनि घटनाको भयावह क्षण सम्झिइन् । पहिलो विमान नर्थ टावरमा ठोक्किँदा आफू कार्यालयमै रहेको र भवनबाट बाहिर निस्कँदै गर्दा दोस्रो विमान ठोक्किएको उनले बताइन्।

हरेक वर्ष सेप्टेम्बर ११ मा चारवटा विमान दुर्घटनाग्रस्त भएको तथा ट्विन टावर ढलेको समयलाई सम्झाउँदै घण्टी बजाउने गरिन्छ। यस वर्ष भने आक्रमणपछि क्यान्सरलगायत विभिन्न रोगका कारण मृत्यु भएका हजारौँ मानिसको सम्झनामा सातौँ घण्टीसमेत बजाइएको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार