काठमाडौँ । अस्पतालको आईसीयूभित्र अन्तर्वार्ता लिइएको विषय संसदमा उठेको छ । मंगलारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीको उपचार हुने कक्षमा अन्तर्वार्ता लिइएको भन्दै आपत्ति जनाएकी हुन् ।
उनले आईसीयू अस्पतालको अत्यन्त संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीहरूको उपचारका लागि छुट्याइएको विशेष कक्ष भएको भन्दै उनले यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनीयता र सङ्क्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइने बताइन् ।
उनले अस्पतालमा उपचाराधीन बिरामी, त्यसमाथि आईसीयूभित्रै अन्तर्वार्ता लिनु वा लिन स्वीकृति दिनु कति नैतिक अभ्यास हो भन्दै प्रश्न गरेकी छन् । सांसद बास्कोटाले सम्बन्धित निकाय र चिकित्सक स्वीकृति दिने बेला कति गम्भीर बने कि बनेनन् भनि प्रश्न गरिन् । मेडिकल लापरबाहीका विषयमा कानुन बनाउन आवश्य रहेको पनि उनले बताइन् । उनले आईसीयूमा बिरामीको संवेदनशीलता र सुरक्षाको प्रोटोकल कसरी कायम गर्ने भन्ने सम्बन्धमा स्पष्ट मापदण्ड बनाउनुपर्ने बताइन् ।








