Logo
२९ कार्तिक २०८३, आईतवार
|  Sun Nov 15 2026

शव पहिचानमा भएको ढिलाइप्रति संसदमा उठ्यो प्रश्न


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले विपत्तिमा परिवारका सदस्य गुमाएका आफन्तलाई पहिचान खुलिसकेका शव तत्काल बुझाउन सरकारसँग माग गरेकी छन् ।मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद ओलीले भदौ १० गतेको विपत्तिबाट नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारका प्रकाश जोशीको परिवारले भोगेको पीडा उदाहरणका रूपमा प्रस्तुत गरिन्।

उनका अनुसार जोशीले आफ्नो व्यापार–व्यवसाय र घर मात्रै नभई परिवारका पाँच जना सदस्य—आमा, श्रीमती, दुई छोरा र बुहारी गुमाएका छन्। तीमध्ये एक छोराको शव भेटिए पनि डीएनए रिपोर्ट नआएको भन्दै परिवारलाई शव बुझाउन कठिनाइ भइरहेको उनले बताइन्।

प्रहरी अस्पतालमा डीएनएका लागि रगत दिएको १५ दिनभन्दा बढी भइसके पनि रिपोर्ट नआएको जोशीले आफूलाई जानकारी गराएको उनले बताइन्। डीएनएको रिपोर्ट सबैको एकैपटक निकाल्ने र त्यसका लागि तीन–चार महिनासम्म लाग्न सक्ने जानकारी पाएको पनि ओलीले सदनलाई जानकारी गराइन्।

उनले पूर्ण रूपमा पहिचान खुलिसकेका शवको छुट्टै व्यवस्थापन गरी सनाखत तथा मुचुल्का उठाएर तत्काल परिवारलाई जिम्मा दिन सरकारसँग आग्रह गरिन्।


प्रतिक्रिया दिनुहोस !
विचार