काठमाडौँ । जलवायु परिवर्तन, जनस्वास्थ्य, विपद् जोखिम न्यूनीकरण, आपत्कालीन व्यवस्थापन तथा सङ्कट प्रतिकार्यका क्षेत्रमा तीन दशकभन्दा बढी व्यतित गर्नुभएको पिताम्बर अर्यालले विद्यावारिधि उपाधि हासिल गरेका छन् ।
उहाँले भारतको राजस्थान नेवाइस्थित डा के एन मोदी विश्वविद्यालयबाट ‘विपद्को सामाजिक–आर्थिक प्रभाव (विपद्को समाजशास्त्र)’ विषयमा हालै सो विद्यावारिधि हासिल गरेका हुन् । डा अर्यालले युरोपबाट जनस्वास्थ्य, भारतबाट समाजशास्त्र र नेपालबाट स्वास्थ्य शिक्षा विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनले अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्टहरुको महासङ्घ, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, डेनिस रेडक्रस तथा क्यानेडियन रेडक्रसलगायत संस्थामा प्राविधिक तथा व्यवस्थापकीय भूमिकामा एकदशकभन्दा बढी समय काम गरेका छन् ।
उनले व्यावसायिक जीवनको महत्वपूर्ण हिस्सा नेपाल रेडक्रस सोसाइटीको स्वास्थ्य सेवा विभाग, विपद् व्यवस्थापन विभाग तथा युवा रेडक्रस विकासमा नेतृत्वदायी जिम्मेवारीहरु सम्हालेका थिए। साथै उनले नेपाल रेडक्रस सोसाइटीको महामन्त्रिको जिम्मेवारी पनि सम्हालेका थिए ।
डा अर्यालको व्यावसायिक दक्षता तथा योगदान विशेषगरी जनस्वास्थ्य, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, आपत्कालीन प्रतिकार्य तथा पुनःस्थापना र सामुदायिक विकासका क्षेत्रमा केन्द्रित छ । उनी हाल नेपाल युनाइटका वरिष्ठ सल्लाहकार तथा डिपिनेटका सल्लाहकारका रुपमा पनि कार्यरत छन् ।








