Logo
५ आश्विन २०८३, सोमबार
|  Mon Sep 21 2026

विपद्पछि काम गर्न र जलवायु परिवर्तनबारे अध्ययन गर्न संसदीय विशेष समिति गठन


काठमाडौं । रसुवा बाढीको विपद्पछि काम गर्न र जलवायु परिवर्तनबारे अध्ययन गर्न संसदीय विशेष समिति गठन भएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा ‘हिमालमा जलवायू परिवर्तन तथा भोटेकोशी–त्रिशुली विपद् सम्बन्धी संसदीय विशेष समिति गठनको प्रस्ताव’ प्रस्तुत भएको थियो । उक्त प्रस्ताव सर्वसम्मत पास भएसँगै समिति गठन भएको हो ।

सोमबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले समिति गठनको सहमति जुटाएको थियो । यसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपनेता गणेश पराजुलीले गर्ने सहमति पनि भएको छ ।

समितिमा रास्वपाका आठ, नेपाली कांग्रेसका दुई, एमालेका दुई तथा नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाबाट एक–एक जना सदस्य रहने छन् । गत ११ भदौमा बसेको सर्वदलीय बैठकको निर्णयअनुसार संसदीय विशेष समिति गठन गरिएको हो ।

१५ सदस्यीय समितिमा सांसदहरू अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनन्जय रेग्मी, ध्रुबराज राई, निशा डाँगी, पुष्पाराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेश कुमार मल्ल, रविन्दै पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य छन् । समितिको कार्यावधि तीन महिना तय गरिएको छ । पछि समितिको म्याद थप गर्न सकिने प्रावधान पनि राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार