काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिन आचार्यले सरकारी कर्मचारीको सरुवा र बढुवामा हुने भनसुन तथा पहुँचको अभ्यासप्रति प्रश्न उठाएका छन् ।बिहीबारको प्रतिनिधिसभा बैठकमा आचार्यले राजनीतिमा प्रवेश गरेपछि आफूले सबैभन्दा बढी दबाब सरुवा र बढुवाकै विषयमा सामना गर्नुपरेको अनुभव सुनाए।
सुशासन र पारदर्शिताको पक्षमा बोल्नेहरूबाटै व्यक्तिगत स्वार्थका लागि आफूलाई दबाब आउने गरेको उनको भनाइ थियो।उनले विधि र पद्धतिभन्दा बाहिर गएर यस्ता आग्रह पूरा गर्न आफूले अस्वीकार गर्दै आएको बताए। सरुवा र बढुवामा राजनीतिक तथा व्यक्तिगत दबाब रोक्न स्पष्ट मापदण्डसहितको संयन्त्र आवश्यक रहेको उनको भनाइ थियो।
यसका लागि सरकारले स्वायत्त सरुवा बोर्ड गठन गर्नुपर्ने आचार्यले बताए। उनले रास्वपाको वाचापत्रमा पनि स्वायत्त सरुवा बोर्ड गठन गर्ने प्रतिबद्धता उल्लेख रहेको स्मरण गराए।सरुवा र बढुवालाई निश्चित विधि, मापदण्ड र पूर्वानुमानका आधारमा सञ्चालन गर्न सके प्रशासनिक क्षेत्रमा राजनीतिक तथा व्यक्तिगत हस्तक्षेप घटाउन सकिने उनले बताए।उनले आगामी दसैँमा आफन्तबाट टीका र आशीर्वादभन्दा पनि काम गरिदिन नसकेको भन्दै गाली खानुपर्ने अवस्था आउन सक्ने बताए ।








