काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । महासभामा सहभागी हुन मंगलबार साँझ अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री शाह भ्रमण सकेर शनिबार फर्किएका हुन् ।
प्रधानमन्त्री शाहको भ्रमणबारे जानकारी गराउन विमानस्थलमा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेको थियो ।मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले भ्रमणबारे जानकारी गराउँदै महासभामा नेपालको सक्रिय र सफल सहभागिता रहेको बताए ।
जुन सहभागीताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि एवं प्रतिष्ठा वृद्धि गरेरको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हालै भोटेकोशीमा आएको विनाशकारी बाढीलाई जलवायु सङ्कटको गम्भीर प्रभाव र विश्व समुदायका लागि चेतावनीका रूपमा चित्रण गरेका थिए । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको हिस्सा ०.१ प्रतिशतभन्दा न्युन रहे पनि नेपालले असंगत र गम्भीर दुष्परिणाम भोगिरहेको उनले सो क्रममा भनेका थिए ।
यी विषयमा पनि परराष्ट्र मन्त्रालयमार्फत जानकारी गराइएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री साहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग उच्चस्तरीय भेटवार्ता गरेका थिए ।








