Logo
१२ आश्विन २०८३, सोमबार
|  Mon Sep 28 2026

के खाएपछि मध्यरातमा जोस र दिउँसो होस हराउँछ,सरकारले यसको जवाफ दिनुपर्छ:युवराज दुलाल


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ र रिहाइ प्रकरणमा सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले मध्यरातमा पक्राउ गर्ने र १२ घण्टा नबित्दै रिहा गर्ने सरकारी कदमले कानुनी राज्यको उपहास गरेको टिप्पणी गरेका हुन् ।

सरकारले जबरालाई पक्राउ गर्नुको कारण र रिहा गर्नुको आधार स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो । सुरक्षा चुनौती देखाएर पक्राउ गर्ने तर पछि रिहा गर्ने कार्यले न्याय प्रणालीमाथि नै प्रश्न उठाएको दुलालले बताए ।

उनले सरकारको कार्यशैलीलाई ‘दादागिरी’ र ‘पागलपन’ को संज्ञा दिँदै यस्तो प्रवृत्ति रोक्न चेतावनी दिए । दुलालले देशभर बाढीपहिरोका कारण नागरिक प्रभावित भइरहेका बेला सरकारको ध्यान विपद् व्यवस्थापनमा केन्द्रित हुन नसकेको आरोपसमेत लगाए । विपद्मा परेका नागरिकलाई राहत, उद्धार र अस्थायी व्यवस्थापनको काम तत्काल अघि बढाउन उनले सरकारसँग माग गरे ।

राज्य संयन्त्रको दुरुपयोग गरेर राजनीतिक स्टन्ट देखाउनुभन्दा कानुनी प्रक्रियाअनुसार अघि बढ्न सरकारलाई आग्रह गर्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए । उनले भने, ‘मध्यरातमा जोस र दिउँसो होस हराउने सरकारको कार्यशैलीले जनतालाई निराश बनाएको छ। के खाएपछि यस्तो मध्यरातमा जोस र दिउँसो होस हराउँछ, सरकारले यसको जवाफ दिनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !
विचार