Logo
१२ आश्विन २०८३, सोमबार
|  Tue Sep 29 2026

एनपिएलको तेस्रो संस्करणका लागि शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि विराटनगर किङ्गसले भारतीय मूलका अमेरिकी अन्तर्राष्ट्रिय क्रिकेटर शुभम रांजणेलाई टोलीमा पुनःअनुबन्ध गरेको छ ।

रांजणेले एनपिएलको दोस्रो संस्करणमा विराटनगर किङ्ग्सबाट प्रभावशाली प्रदर्शन गरेका थिए । उनले चार खेलमा ८७ रन बनाउँदै टोलीको ब्याटिङमा महत्त्वपूर्ण योगदान दिएका थिए । उनको ब्याटिङ औसत २९ तथा स्ट्राइक रेट १२९ दशमलव ८५ रहेको थियो । प्रतियोगिताका क्रममा उनले पाँच चौका र चार छक्का प्रहार गरेका थिए ।

ब्याटिङसँगै बलिङमा समेत योगदान दिएका रांजणेले दोस्रो संस्करणमा १० ओभर बलिङ गर्दै पाँच विकेट लिएका थिए । उनको यही बहुआयामिक क्षमताका कारण विराटनगर किङ्ग्सले तेस्रो संस्करणका लागि उनलाई पुनः टोलीमा समावेश गरेको हो ।

विराटनगर किङ्ग्स व्यवस्थापनले रांजणेको अनुभव, बहुआयामिक क्षमता र दबाबको अवस्थामा प्रदर्शन गर्न सक्ने क्षमतालाई टोलीका लागि महत्त्वपूर्ण पक्षका रूपमा लिएको जनाएको छ । टोली व्यवस्थापनका अनुसार रांजणेले आवश्यकताअनुसार ब्याटिङ र बलिङ दुवैमा भूमिका निर्वाह गर्न सक्ने भएकाले उनको उपस्थितिले टोलीलाई थप मजबुत बनाउनेछ । टोलीमा पुनः आबद्ध भएपछि रांजणेले पनि खुसी व्यक्त गर्दै आगामी सिजनमा अझ प्रभावकारी प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार