काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवासम्बन्धी विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।
त्यस्तै पशु वधशाला र मासु जाँच ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिइएको छ ।
त्यस्तै बैठकले प्रशासनतर्फको सचिवमा सहसचिव आभा कर्णलाई बढुवा गरेको छ । यसअघि बढुवा समितिले कर्णसँगै चक्रबहादुर बुढा र जयनारायण आचार्यको नाम पनि सिफारिस गरेको थियो ।
त्यस्तै बैठकले स्वास्थ्य क्षेत्रको सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न दिने स्वीकृति प्रदान गरेको छ। जसअन्तर्गत पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कमला–ढल्केबर–पथलैया सडक खण्ड, गर्जाङ खोला साना जलविद्युत् आयोजना, बलेफी खोला जलविद्युत् आयोजना तथा सशस्त्र प्रहरी बल नेपाललाई तालिम शिक्षालय, गुल्म र सीमा सुरक्षा पोस्ट (बीओपी) निर्माण गर्न राष्ट्रिय वन क्षेत्रको जग्गा उपयोग गर्न दिइने भएको छ।








