काठमाडौँ । जर्मन नागरिक जोसेफ पिटर रिन्डफ्लाइसको निजी सङ्ग्रहमा रहेका १३औँ देखि २०औँ शताब्दीसम्मका आठ सयभन्दा बढी महत्त्वपूर्ण नेपाली ऐतिहासिक दस्तावेज राष्ट्रिय अभिलेखालय नेपाललाई हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय अभिलेखालयमा शुक्रबार आयोजित कार्यक्रममा उक्त आठ सयभन्दा बढी दस्तावेज हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गत हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एन्ड ह्युमानिटिजका प्राध्यापक एक्सेल माइकल्स तथा डा मनिक बज्राचार्य र राजन खतिवडाले संयुक्त रूपमा परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेका हुन् ।
प्राध्यापक माइकल्स रिन्डफ्लाइसका छोरा वाल्टर रिन्डफ्लाइसका साथी हुन् । छोरा वाल्टरले बुबाका दस्तावेजहरू नेपाल फिर्ता गराउनका लागि प्राध्यापक माइकल्सलाई हस्तान्तरण गरेका थिए । त्यसपछि प्राध्यापक माइकल्सले हाइडेलबर्ग विश्वविद्यालयमार्फत नेपाललाई हस्तान्तरण गरेका हुन् ।
परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा ती ऐतिहासिक दस्तावेज राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको हो । जर्मनीका लागि नेपाली राजदूतावास, हाइडेलबर्ग विश्वविद्यालय, हाइडेलबर्ग एकेडेमी अफ साइन्सेज एन्ड ह्युमानिटिज, सराफ फाउन्डेसन र राष्ट्रिय अभिलेखालयको सहकार्यमा ती दस्तावेज नेपाल फिर्ता ल्याइएको हो ।
परराष्ट्रमन्त्री खनालले ऐतिहासिक दस्तावेजको स्वदेश फिर्तीले नेपालको सांस्कृतिक अखण्डता र सभ्यतागत सम्पदामाथिको सार्वभौम स्वामित्वलाई पुनःस्थापित गरेको बताए ।
मन्त्री खनालले स्वर्गीय जोसेफ पिटर रिन्डफ्लाइसले आफ्नो निजी सङ्ग्रहमा रहेका आठ सयभन्दा बढी महत्त्वपूर्ण नेपाली दस्तावेज स्वदेश फिर्ता गर्ने इच्छा व्यक्त गरेको स्मरण गर्दै उनको सांस्कृतिक सम्पदाप्रतिको सम्मान र दूरदर्शी सोचको प्रशंसा गरे ।
उनले रिन्डफ्लाइसका छोरा वाल्टर रिन्डफ्लाइसले आफ्ना पिताको इच्छालाई सम्मान गर्दै ती दस्तावेज हाइडेलबर्ग विश्वविद्यालयको दक्षिण एसिया अध्ययन संस्थानका प्राध्यापक डा एक्सेल माइकल्सलाई हस्तान्तरण गरेकोमा आभार व्यक्त गरे।
मन्त्री खनालले दस्तावेजहरूको पहिचान, अभिलेखीकरण र स्वदेश फिर्तीमा योगदान पुर्याउने प्राध्यापक डा एक्सेल माइकल्स र उनको अनुसन्धान टोलीको प्रशंसा गर्दै उनीहरूको शैक्षिक इमानदारी, अनुसन्धान र निरन्तर प्रयासले ऐतिहासिक दस्तावेज फिर्ती सम्भव भएको बताए ।








