Logo
१८ आश्विन २०८३, आईतवार
|  Sun Oct 4 2026

रुसी तेल प्रशोधन केन्द्रमा प्रहार गर्ने जेलेन्स्कीको चेतावनी


रोयटर्स । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले गैरसैनिक पूर्वाधारलाई समेत लक्षित गर्दै हवाई आक्रमणको नयाँ रणनीति अपनाएको आरोप लगाउँदै त्यसको जवाफमा रुसी तेल प्रशोधन केन्द्रलगायत ऊर्जा क्षेत्रलाई निशाना बनाउने बताएका छन्।

जेलेन्स्कीका अनुसार युक्रेनी गुप्तचर निकायले प्राप्त गरेका दस्तावेजमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी जाडोयामलाई लक्षित गर्दै गैरसैनिक संरचनामाथि व्यापक आक्रमण गर्ने नयाँ सैन्य नीति अघि सारेको देखिएको छ।

रोयटर्ससँगको अन्तर्वार्तामा जेलेन्स्कीले रुसले पूर्वाधार, यातायात तथा लजिस्टिक्स, सडक, विद्यालय र अस्पतालसम्मलाई निशाना बनाउन सक्ने बताएका छन्। मानिसलाई राजधानी किभसहित विभिन्न सहर तथा गाउँबाट विस्थापित गराउनु रुसी रणनीतिको उद्देश्य रहेको उनको दाबी छ।

महत्त्वपूर्ण मोर्चामा रुसी सेना दबाबमा परेको र ठूलो संख्यामा हताहती व्यहोर्नुपरेको अवस्थामा पुटिनले आफूलाई शक्तिशाली देखाउन नयाँ रणनीति अघि सारेको जेलेन्स्कीले बताए।

रुसी विदेश मन्त्रालयले भने युक्रेनका पछिल्ला आक्रमणको जवाफमा रुसले लक्षित आक्रमणलाई निरन्तरता दिने जनाएको छ। क्रेमलिनले भने जेलेन्स्कीको पछिल्लो भनाइबारे तत्काल प्रतिक्रिया दिएको छैन।

पछिल्लो एक सातादेखि किभमा रुसी ड्रोन र क्षेप्यास्त्रबाट निरन्तर आक्रमण भइरहेको छ। ऊर्जा तथा दूरसञ्चार संरचना, सडक र रेल पूर्वाधारलाई निशाना बनाइएका छन्। रुसले पहिलोपटक पूर्वी र पश्चिमी किभलाई जोड्ने ड्निप्रो नदीमाथिका पुललाई समेत लक्षित गरेको जेलेन्स्कीले बताएका छन्।

रुसले युक्रेनको ऊर्जा संरचनामा आक्रमण गरेपछि युक्रेनले पनि रुसी ऊर्जा क्षेत्रमा जवाफ दिनुपर्ने जेलेन्स्कीको भनाइ छ। विशेषगरी रुसी युद्ध प्रयासलाई आर्थिक स्रोत उपलब्ध गराउने तेल प्रशोधन केन्द्रलगायत संरचनालाई लक्षित गरिने उनले बताए। तर युक्रेनले रुसले जस्तो गैरसैनिक संरचनामाथि अन्धाधुन्ध आक्रमण नगर्ने जेलेन्स्कीले स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस !
विचार