Logo
१८ आश्विन २०८३, आईतवार
|  Mon Oct 5 2026

‘नेपाली कांग्रेसको शक्ति इतिहास हो,कमजोर पनि इतिहास हो,’:रवि लामिछाने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसको सबैभन्दा ठूलो शक्ति उसको लामो राजनीतिक इतिहास भएको बताएका छन्। कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको आफूले सधैँ सम्मान गर्ने भन्दै उनले कांग्रेसको इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू अहिलेको मञ्चमा सत्तापक्षको भएपनि एक्लो प्रतिपक्षीजस्तो देखिएको बताए। उनले आफू प्रायः एक्लै रहने बानी परेको भन्दै त्यसलाई समेत राजनीतिक प्रसंगसँग जोडेर व्यंग्यात्मक शैलीमा प्रस्तुत गरे।

लामिछानेले नेपाली कांग्रेसको लामो राजनीतिक इतिहासलाई उसको ठूलो राजनीतिक पुँजीका रूपमा व्याख्या गरे। कांग्रेसले नेपालको लोकतन्त्र स्थापना र राजनीतिक परिवर्तनका लागि गरेको योगदानलाई आफूले सधैँ सम्मान गर्ने उनको भनाइ थियो।

उनले कांग्रेसले विगतमा खेलेको भूमिका र हासिल गरेका उपलब्धिसँगै त्यसका कमजोरीबाट समेत नयाँ पुस्ताले सिक्नुपर्ने बताए। इतिहासलाई केवल गौरव गर्ने विषयका रूपमा नभई आगामी राजनीतिक यात्राका लागि सिकाइका रूपमा लिनुपर्ने उनको भनाइ थियो।

लामिछानेले आफू पनि कांग्रेसमा हुन सक्ने सम्भावनाको प्रसंगसमेत सुनाए। कांग्रेसले नयाँ पुस्तालाई समयमै नेतृत्व र राजनीतिक अवसर दिएको भए आफू कांग्रेसमै हुन सक्ने संकेत गर्दै उनले पार्टीहरूले नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको चाहनालाई सम्बोधन गर्नुपर्ने बताए।

भाषण, नारा र घोषणापत्रमा मात्रै सीमित हुने राजनीति अब पर्याप्त नहुने भन्दै लामिछानेले जनताले राजनीतिक दलको काम र परिणाम हेर्न थालेको बताए। आफूहरूले काम गर्न नसके जनताले निर्वाचनमार्फत निर्णय गर्न सक्ने भन्दै उनले जनताको मतको सम्मान गर्नुपर्ने बताए।

मुलुकको सवालमा भने राजनीतिक दल र झन्डाको भिन्नता गौण हुने लामिछानेको भनाइ थियो। राष्ट्रिय हितका विषयमा सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने उनले बताएलोकतन्त्रको ठेक्का कुनै एउटा राजनीतिक दलले लिन नहुने भन्दै लामिछानेले लोकतन्त्र खतरामा परे जनताले त्यसको रक्षा गर्ने बताए। आफूहरूलाई हटाउने वा विस्थापित गर्ने अधिकार पनि निर्वाचनमार्फत जनतामै रहेको उनको भनाइ थियो।

निर्वाचनबाट जनताले दिएको मतलाई भ्रमित पारेर जनताको निर्णयको अपमान नगर्न उनले आग्रह गरे। आफूहरूले काम गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई डाँडो कटाउन सक्ने भन्दै त्यसलाई स्वीकार गर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !
विचार