Logo
२३ आश्विन २०८३, शुक्रबार
|  Sat Oct 10 2026

एन्फा अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर


काठमाडौँ ।  जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले निलम्बित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीविरुद्ध भ्रष्टाचार, ठगी र खेलमा मिलेमतोसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ ।

सरकारी वकिलको कार्यालयले ललितपुर जिल्ला अदालतमा एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

प्रतिवादीमध्ये कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे हिरासतमा छन् भने अध्यक्ष नेम्वाङ र महासचिव राई फरार छन् । एन्फामा आर्थिक अनियमितता, म्याच फिक्सिङ (खेल मिलोमतो) र फिफा विश्वकपका टिकट अपचलन गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रअनुसार उनीहरूविरुद्ध रु ९३ लाख ९०० बिगो कायम गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एन्फामा भएको आर्थिक अनियमिततालगायतका विषयमा अनुसन्धान गरेको थियो ।

फिफा विश्वकप, २०२६ र एएफसी एसियन कप छनोटअन्तर्गत सन् २०२४ मार्च २१ मा काठमाडौँको दशरथ रङ्गशालामा हुनुपर्ने नेपाल र बहराइनबीचको घरेलु मैदानको खेल नियतवश बहराइनमा सारिएको अभियोगमा उल्लेख गरिएको छ । उक्त खेल बहराइनमा खेलाएबापत त्यहाँको फुटबल सङ्घबाट टिकट बिक्रीको राजस्वअन्तर्गत एन्फाले पाउनुपर्ने २० हजार अमेरिकन डलर संस्थाको बैंक खातामा दाखिला नगरी अपचलन गरेको अनुसन्धानबाट देखिएको अभियोग पत्रमा उल्लेख छ ।

अभियोगपत्रमा रु १० लाखभन्दा माथिको खरिदमा अनिवार्य टेन्डर प्रक्रिया अपनाउनुपर्नेमा एउटै स्वामित्वका तीनवटा नक्कली फर्महरू खडा गरी कोटेशनमार्फत खेल सामग्री खरिद गरिएको पाइएको अनुसन्धानमा देखिएको छ । एन्फाको आर्थिक कार्यविधि, २०७५ अनुसार १० लाखभन्दा बढीको खरिदमा टेन्डर प्रक्रिया अपनाउनुपर्ने हुन्छ ।

फिफाले सन् २०२६ को विश्वकपका लागि एन्फालाई उपलब्ध गराएको ३३० थान अनलाइन टिकट पारदर्शी रूपमा वितरण नगरी कालोबाजारी र व्यक्तिगत रूपमा किनबेच गराएको पनि अभियोगमा उल्लेख छ । शेर्पा आउटडोरसँग भएको प्रायोजन सम्झौताबमोजिम एन्फाको खातामा आउनुपर्ने रकम संस्थाको खातामा नहाली महासचिव किरण राईले रु २५ लाख व्यक्तिगत रूपमा बुझेर अपचलन गरेको पनि अनुसन्धानबाट देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार