काठमाडौं।प्रधानमन्त्री बालेन साहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औं समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री साहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाइ निर्देशन दिए।
उनले सधैँ अग्रभागमा उभिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि स्वतन्त्रताको राष्ट्रिय रूपमा सही ढङ्गको रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको बताए।
आफ्नो सङ्गठनमा पूर्णप्रतिबद्ध भई सहयोग र सहकार्यसँगै संलग्न रहन आग्रह गर्दै प्रधानमन्त्री साहले सूचना प्रविधिको प्रयोगले कामलाई छिटो, छरितो, सहज र पारदर्शी तुल्याउन सकिने मात्र नभई समयको बचत, समयमै अपराधको अनुसन्धान र समयै घटनालाई नियन्त्रण गर्न सकिने धारणा व्यक्त गरे।
प्रधानमन्त्री साहले आज दीक्षित भएका प्रहरीहरुलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्य र सफलताको कामना गरे। उनले प्रहरी सेवामा आबद्ध निरन्तर प्रेरित गर्ने परिवारजनप्रति पनि विशेष आभार व्यक्त गरे। समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए।








