काठमाडौं । बौद्ध दर्शन, मानवीय संवेदना र हिमाली अध्यात्मलाई सिनेमाको भाषामा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको चलचित्र ‘मेतोग’को छायाङ्कन सम्पन्न भएको छ।
महायोगी मिलारेपाको साधनासँग जोडिएको ऐतिहासिक लाप्चि क्षेत्रका गुफा र दुर्गम हिमाली भूगोलमा खिचिएको चलचित्रले नेपालको प्राकृतिक सौन्दर्यसँगै आध्यात्मिक तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने लक्ष्य राखेको छ।
करुणा, मानवीय प्रेम र निःस्वार्थ त्यागलाई कथाको केन्द्रमा राखिएको ‘मेतोग’ले मनोरञ्जनमा मात्र सीमित नभई जीवन, मानवीय सम्बन्ध र प्राणीप्रतिको संवेदनशीलताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। चलचित्रका लागि समुद्री सतहबाट करिब ४ हजार ८ सय मिटरको उचाइमा रहेका स्थानबाट दृश्यहरू खिचिएका छन्।
कठिन हिमाली भूगोलमा छायाङ्कन गरिएको चलचित्रमा महायोगी मिलारेपाको साधनासँग सम्बन्धित गुफासहित सात हजार मिटरभन्दा अग्ला हिमशृङ्खलाका दृश्यहरू समेटिएका छन्। बौद्ध परम्परामा अवलोकितेश्वर, वज्रपाणि र मञ्जुश्रीको प्रतीकका रूपमा पुजिने ‘ऋगसुम गोन्पो’सँग सम्बन्धित हिमाली दृश्यले चलचित्रलाई प्राकृतिक सौन्दर्यका साथै धार्मिक तथा आध्यात्मिक महत्त्वका दृष्टिले पनि विशेष बनाएको छ।
कोशिस लोब्साङ वाइबाको निर्देशन र रविन तामाङको लेखन रहेको चलचित्रमा रुपेश लामा, रमिला मोक्तान र योगी काल्साङ दोन्डुब लामाको अभिनय छ।निर्माण टोलीमा सहायक निर्देशक पन्कज सार्कि, छायाकार योन्जन राई, ध्वनि प्राविधिक अजय गुरुङ, सहायक छायाकार सफल रेग्मी र फोकस पुलर कृतिका बयलकोटि रहेका छन्।
निर्माण पक्षले ‘मेतोग’लाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी गराउने लक्ष्य लिएको छ। बुद्धको करुणाको सन्देश, हिमाली जीवनशैली र नेपालको आध्यात्मिक सम्पदालाई विश्व चलचित्र मञ्चमा परिचित गराउनु चलचित्रको प्रमुख उद्देश्य रहेको छ।
हिमाललाई केवल प्राकृतिक दृश्यका रूपमा नभई आस्था, साधना र मानवीय संवेदनासँग जोडेर प्रस्तुत गर्ने प्रयास गरिएको ‘मेतोग’ले नेपालको मौलिक कथा र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न कस्तो भूमिका खेल्छ भन्ने चासो अब चलचित्रको आगामी यात्रातर्फ केन्द्रित भएको छ।








