Logo
५ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 22 2026

साउदी अरबमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई श्रमिकको मृत्यु


साउदी अरबको पूर्वी प्रान्तमा रहेको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको प्रयास हुँदा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ । घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन् ।

साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बुधबार बिहान साउदी अराम्कोको परियोजनालाई लक्षित गरी गरिएको आक्रमणको प्रयासका क्रममा नेपाली र प्यालेस्टिनी नागरिकको ज्यान गएको हो । घाइते हुनेमा एक पाकिस्तानी र एक भारतीय नागरिक छन् ।

घटनामा मृत्यु भएका नेपाली श्रमिकको नाम, ठेगाना तथा अन्य परिचय खुलाइएको छैन । उनको मृत्युको परिस्थितिबारे पनि विस्तृत विवरण सार्वजनिक भएको छैन ।

मन्त्रालयका अनुसार तेल क्षेत्रको प्रशोधन केन्द्रलाई लक्षित गरेर आएको ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको थियो । ड्रोन आक्रमणको प्रयासका क्रममा तेल क्षेत्रमा कार्यरत ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो ।

आगलागी प्रशोधन केन्द्रको परिधिबाहिर भएको जनाउँदै मन्त्रालयले घटनाबाट तेल क्षेत्रको सञ्चालनमा कुनै असर नपरेको स्पष्ट पारेको छ । मन्त्रालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साउदी अरबमा नेपाली श्रमिक ठूलो संख्यामा कार्यरत छन्।


प्रतिक्रिया दिनुहोस !
विचार