काठमाडौं । स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्ष सहकार्य गर्ने सम्झौता गरेको छ ।
सहकार्यअन्तर्गत कम्पनीले प्रत्येक खेलमा दुई खेलाडी र एक दर्शकलाई गरी कुल ७० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ। उत्कृष्ट प्रदर्शन र खेलभावनालाई प्रोत्साहन गर्न दुई खेलाडीलाई ‘हेल्दी पार्टनरसिप अवार्ड’मार्फत जनही २५ हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ। यस्तै प्रत्येक खेलमा एक दर्शकलाई २० हजार रुपैयाँको ‘हार्टबिट मुमेन्ट अफ द म्याच’ पुरस्कार दिइनेछ।
आफ्नो ३० वर्षे यात्रालाई सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य प्रवर्द्धनसँग जोड्दै आर्य फार्मा ल्याबले एनपिएलको माध्यमबाट आमनागरिकलाई आधारभूत स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा स्वस्थ जीवनशैलीसम्बन्धी जानकारी प्रदान गर्ने लक्ष्य लिएको छ ।
आर्य फार्मा ल्याबले आफ्नो स्थापनाको ३० वर्ष पूरा गरेको अवसरमा सुरु गरेको यस सहकार्यलाई संस्थाको यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । क्रिकेटजस्तो लोकप्रिय खेलसँग स्वास्थ्य सचेतनालाई जोडेर धेरैभन्दा धेरै नागरिकसम्म स्वास्थ्यसम्बन्धी सन्देश पुर्याउन सकिने विश्वास कम्पनीले व्यक्त गरेको छ ।








