काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले इनम सापकोटा प्रकरणले सरकारले सत्ताको दुरुपयोग गरिरहेको तथ्य उजागर गरेको आरोप लगाएकी छन् ।
सामाजिक संजालमार्फत उनले देशमा सुशासनको सट्टा छाडातन्त्र हावी हुँदै गएको टिप्पणी गर्दै प्रधानमन्त्री बालेन साहको नेतृत्वमा सरकार सञ्चालन भइरहेको विषयमै आम नागरिक अन्योलमा पर्न थालेको बताएकी हुन् ।
लोकतन्त्रको पहरेदारका रूपमा रहेको नेपाली कांग्रेसमाथि सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको उनको आरोप छ । सत्तापक्षका गल्तीहरू सार्वजनिक हुँदै जाँदा त्यसको जवाफदेहिता पनि सरकारले नै लिनुपर्ने उनले बताएकी छन् ।
प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षण गर्नुअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भनिएको विषय जिम्मेवार सञ्चारमाध्यमबाट सार्वजनिक भइसकेको उल्लेख गर्दै सग्रौलाले यसबारे सत्तापक्षले जवाफ दिनुपर्ने माग गरेकी छन् ।
’अब जवाफ दिनुपर्ने पालो सत्ता र सत्तारूढ दलको हो,’ उनले भनेकी छन् ।उनले बालेन नेतृत्वको सरकारमा प्रतिपक्षलाई मात्रै प्रश्न गरिने हो भन्दै सत्तापक्षको जवाफदेहितामाथि पनि प्रश्न उठाएकी छन् ।








