बैतडी । बैतडीको मेलौली नगरपालिका–१ स्थित जिरो पोइन्ट नजिकै सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित ६ जना घाइते भएका छन् । गएराति डडेल्धुराबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेर दुर्घटनामा परेको हो ।
जिपमा चालकसहित सात जना सवार थिए । दुर्घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पुर्याइएको थियो । उपचारका क्रममा पञ्चेश्वर गाउँपालिका–२ निवासी ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोही ठाउँकी २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनास राम लुहार, १६ वर्षीय निरज बस्केल, २४ वर्षीय करन सिंह मंगोला र २२ वर्षीय सुनिल बस्केल घाइते भएका छन् ।
त्यस्तै, जिप चालक ३६ वर्षीय सन्तोष राम लुहार पनि घाइते भएका छन् । घाइतेमध्ये सोमनीको भित्री चोट लागेको छ भने अविनासको खुट्टा, निरजको टाउको र ढाड तथा सुनिलको टाउको र दायाँ खुट्टामा चोट लागेको छ । करन सिंहको अवस्था भने सामान्य रहेको छ । चालक सन्तोषको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको बताइएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








