काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा चार वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलबाट रिहा भएका छन् । जेष्ठ नागरिकले पाउने कैद छुटको सुविधा पाएपछि उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
६५ वर्ष उमेर पूरा गरेका रायमाझीले जेष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद सजायमा २५ प्रतिशत छुट पाएका हुन् । उनको निवेदनपछि काठमाडौं जिल्ला अदालतले कैद छुटसहितको संशोधित कैदीपुर्जी जारी गरी कारागार कार्यालयलाई रिहाइका लागि पत्र पठाएको थियो ।
कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालका अनुसार रायमाझीलाई बिहीबार रिहा गर्ने पत्र तिहारअघि नै प्राप्त भएको थियो । संशोधित कैदीपुर्जीमा उल्लेख भएअनुसार उनको रिहाइ गरिएको उनले बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझी २०८० वैशाख २० गतेदेखि थुनामा थिए । काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो ।








