Logo
२७ कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 13 2026

गृहमन्त्री सुदन गुरूङ युएई प्रस्थान


काठमाडौँ । विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री सुदन गुरूङ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । युएई सरकारको औपचारिक निमन्त्रणामा गृहमन्त्री गुरूङ शुक्रबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

दुबईमा आयोजना हुने सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यासबारे छलफल र अनुभव आदानप्रदान हुनेछ।

सम्मेलनमा नीतिगत छलफल, विषयगत तथा प्राविधिक सत्र, राउन्डटेबल बैठक, कार्यशाला, तालिम, अन्तर्राष्ट्रिय प्रदर्शनी तथा विश्व प्रहरी पुरस्कार वितरण लगायतका कार्यक्रम सञ्चालन हुने बताइएको छ।

सम्मेलनमा कृत्रिम बुद्धिमत्तामा आधारित प्रहरी सेवा, डिजिटल रूपान्तरण, साइबर अपराध तथा डिजिटल ठगी नियन्त्रण, क्रिप्टो कारोबार र वित्तीय अपराध नियन्त्रण, आधुनिक फरेन्सिक प्रविधि, लागुऔषध तथा संगठित अपराध नियन्त्रण, सीमा सुरक्षा, ड्रोन तथा रोबोट प्रविधि र अन्तरिक्ष सुरक्षालगायत १४ वटा विषयगत क्षेत्र समेटिएका छन्।

सम्मेलनका क्रममा गृहमन्त्री गुरूङले युएईसहित विभिन्न देशका आन्तरिक मामिलासम्बन्धी मन्त्री तथा सुरक्षा प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भेटवार्तामा सुरक्षा क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदान, मानव बेचबिखन तथा मानव तस्करी, साइबर अपराध, लागुऔषध र सीमापार संगठित अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार