Logo
२८ कार्तिक २०८३, शनिबार
|  Sat Nov 14 2026

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा ब्राजिलमाथि जापानको शानदार जित


एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जापानले पाँचपटकको विश्व विजेता ब्राजिललाई पराजित गरेको छ । शनिबार सिंगापुरको नेसनल स्टेडियममा भएको खेलमा जापानले ब्राजिललाई ३–२ गोलले हराएको हो ।

रोमाञ्चक खेलमा जापानलाई जित दिलाउन ताकेफुसा कुबो, केइतो नाकामुरा र तात्सुहिरो साकामोटोले गोल गरे । ब्राजिलका भिनिसियस जुनियरले दुई गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको जापानले पहिलो २० मिनेटभित्रै दुई गोलको अग्रता बनाएको थियो । १५औँ मिनेटमा कुबोले गोल गर्दै जापानलाई अग्रता दिलाए । त्यसको चार मिनेटपछि नाकानोतर्फबाट आएको पासलाई सदुपयोग गर्दै नाकामुराले गोल गरेपछि जापानले अग्रता दोब्बर बनायो ।

दुई गोलले पछि परेको ब्राजिलका लागि ३३औँ मिनेटमा भिनिसियस जुनियरले उत्कृष्ट लामो दूरीको प्रहारमार्फत गोल गर्दै अन्तर घटाए ।

दोस्रो हाफमा पनि ब्राजिलले गोलको प्रयास जारी राख्यो । ७५औँ मिनेटमा ब्रुनो गिमारेसको सहयोगमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो ।

त्यसपछि ब्राजिलले अग्रता लिने अवसरसमेत पाएको थियो । तर, वैकल्पिक खेलाडी एन्ड्रिकको प्रहार क्रसबारमा लागेर फर्कियो ।खेल बराबरीतर्फ अघि बढिरहेका बेला इन्जुरी समयको ९०औँ मिनेटमा मैदान प्रवेश गरेका साकामोटोले गोल गर्दै जापानलाई रोमाञ्चक जित दिलाए ।

निर्णायक गोलपछि ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टी र मैदानबाट बाहिरिसकेका राफिन्हाले गोल हुनुअघिको घटनामा फल भएको भन्दै विरोध गरेका थिए । उक्त घटनापछि राफिन्हाले रातो कार्ड पाए ।

यस जितसँगै जापानले विश्व फुटबलको बलियो टोली ब्राजिलविरुद्ध अर्को प्रभावशाली नतिजा निकालेको छ । यसअघि सन् २०२५ अक्टोबरमा पनि जापानले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै ब्राजिललाई ३–२ गोलले नै पराजित गरेको थियो ।ब्राजिलले अब मंगलबार सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार