Logo
५ मंसिर २०८३, शनिबार
|  Sat Nov 21 2026

प्रधानमन्त्री आइतबार भारत भ्रमणमा जाँदै, ३४ सदस्यीय टोली सहभागी हुने


काठमाडौं । प्रधानमन्त्री बालेन साह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबारदेखि दुईदिने राजकीय भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री साहको मंसिर ६ र ७ गते (नोभेम्बर २२–२३) हुने भारत भ्रमणको कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री साह आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट भारत प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमण टोलीमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकार, उच्च सरकारी अधिकारी, व्यवसायी र पत्रकार सहभागी हुनेछन् ।

नेपालबाट प्रस्थान गर्ने सरकारी भ्रमणदल ३४ सदस्यीय हुनेछ भने भारतस्थित नेपाली राजदूतावासका राजदूतसहित केही सदस्य पनि भ्रमणमा सहभागी हुनेछन् । निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा भ्रमणमा जानेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले आइतबार भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ । वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत द्विपक्षीय आर्थिक सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ ।

त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायत विभिन्न क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) आदानप्रदान गरिनेछ ।

द्विपक्षीय वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री साह तथा नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने औपचारिक दिवाभोजमा पनि प्रधानमन्त्री साह सहभागी हुनेछन् ।

प्रधानमन्त्री साहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने तथा भारतीय विदेशमन्त्री एस जयशंकरले उनीसँग भेट गर्ने कार्यक्रमसमेत तय भएको छ । प्रधानमन्त्रीले नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर श्रद्धासुमन अर्पण गर्नेछन् ।

भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको कार्यक्रम पनि आयोजना हुनेछ । उक्त कार्यक्रममा भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै नेपालमा लगानीका अवसर, सरकारले अवलम्बन गरेका नीतिगत दृष्टिकोण तथा लगानी आकर्षित गर्न गरिएका प्रयासबारे जानकारी गराइनेछ । साथै, नेपाली र भारतीय व्यवसायीबीच सहकार्य विस्तार गर्ने उद्देश्यले छलफल हुने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री आइतबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल–भारत द्विपक्षीय साझेदारीलाई थप गति प्रदान गर्ने तथा नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने लाभ हासिल गर्न योगदान पुर्याउने अपेक्षा गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार