काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपाल भ्रमणमा रहेका फ्रान्स–नेपाल संसदीय मैत्री समूहका प्रतिनिधिहरूले शिष्टाचार भेट गरेका छन् ।
भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष सांसद बियात्रिस पिरोन, उपाध्यक्ष सांसद ग्राजिएला मेल्चियोर तथा नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जा सहभागी थिए ।
भेटका क्रममा मन्त्री गौतमले फ्रान्समा पछिल्ला दिनमा भएका प्रदर्शनका घटनाप्रति चिन्ता व्यक्त गरेकी थिइन् । फ्रान्सेली प्रतिनिधिमण्डलले भने नेपालमा हालै भएको प्राकृतिक विपद्का घटनाप्रति समवेदना व्यक्त गरेको थियो ।
संसदसँग सम्पर्क गर्ने मन्त्रालयका रूपमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको भूमिकासमेत उल्लेख गर्दै भेटमा नेपाल र फ्रान्सका संसदीय प्रक्रिया तथा अभ्यासबारे अनुभव आदानप्रदान गरिएको थियो ।
विशेषगरी कानून निर्माणमा सांसदहरूले प्रविधिको प्रयोग गर्ने अभ्यास तथा विधेयक स्वीकृतिका लागि संसदमा अपनाइने प्रक्रियाबारे दुवै पक्षबीच छलफल भएको मन्त्रालयले जनाएको छ ।
फ्रान्सेली प्रतिनिधिमण्डलले नेपालको राजनीतिक परिवर्तनमा महिलाहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेको थियो ।भेटमा दुवै पक्षले नेपाल र फ्रान्सबीचको द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने तथा आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।








