ओखलढुंगा । ओखलढुङ्गामा बोलेरो जिप सडकबाट करिब ३५ मिटर तल खस्दा ९ जना घाइते भएका छ । आज बिहान ७ः१५ बजे सिद्धिचरण नगरपालिका–२ खनेखर्कस्थित निशंखे–ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा जिप दुर्घटनामा परेको हो ।
निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो जिप सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी निशंखे, अस्थायी प्रहरी पोष्ट मिलनचोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी सामुदायिक अस्पताल ओखलढुङ्गा पठाएको छ। उनीहरूको उपचार भइरहेको छ।
दुर्घटनामा सिद्धिचरण नगरपालिका–२ निवासी ३४ वर्षीय सरोज आचार्य, २४ वर्षीया मिरा सार्की, उनका एक वर्षीय छोरा रोयन मंग्राती, २९ वर्षीय सबिन आचार्य, ७ वर्षीय आयुश मंग्राती, ७ वर्षीय प्रशान्त रम्तेल, २९ वर्षीया रमिला नेपाली, उनका ६ वर्षीय छोरा प्रबिन मंग्राती र ३२ वर्षीया मिना मंग्राती घाइते भएका छन्।








