काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन साहले नयाँदिल्लीस्थित राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। श्रद्धाञ्जली अर्पणपछि प्रधानमन्त्री साहले शोक पुस्तिकामा आफ्नो सन्देश लेखेका छन्।
प्रधानमन्त्री साहले महात्मा गान्धीले आफ्नो जीवनबाट सत्यको शक्ति कुनै पनि शक्तिभन्दा अतुलनीय हुने कुरा विश्वलाई प्रमाणित गरेको उल्लेख गर्दै उहाँप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेका छन्।
नेपालका जनता र सरकारका तर्फबाट गान्धीप्रति सम्मान व्यक्त गर्दै उनले भगवान् बुद्धको जन्मभूमि नेपालबाट गान्धीको विरासतमा करुणा नै सर्वोच्च शक्ति र सच्चा नेतृत्व भनेको समाजका सबैभन्दा विनम्र तथा कमजोर वर्गका मानिसहरूको निःस्वार्थ सेवा हो भन्ने अमर सत्य देखिने उल्लेख गरेका छन्।
नेपाल र भारत साझा भूगोलले मात्र नभई आस्था, आत्मीयता र दिगो मित्रताको शाश्वत विरासतले जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री साहले गान्धीका कालजयी आदर्शको सम्मानमा पारस्परिक सम्मान, इमानदारी र अटुट विश्वासका साथ दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता पुनः व्यक्त गरेका छन्।
उनले गान्धीका आदर्शले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्व निर्माणतर्फको साझा यात्रालाई निरन्तर प्रेरणा र प्रकाश प्रदान गरिरहने विश्वाससमेत व्यक्त गरेका छन्।








