काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ९२० ग्राम अवैध लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार गएराति भारतको दिल्लीबाट एयर इन्डियाको उडानमार्फत काठमाडौं आएका २६ वर्षीय सञ्जीव कुमार पक्राउ परेका हुन् । उनी भारतको आयु निवासी अवधेश महतोका छोरा हुन् ।
विमानस्थलमा उनको गतिविधि शंकास्पद देखिएपछि जाँच गरिएको थियो । त्यसक्रममा उनले बोकेको कालो रंगको झोलामा सेतो प्लास्टिकले बेरिएका तथा गोलाकार प्लास्टिकको न्यापसहित सातवटा पोकामा लुकाएर राखिएको ३ किलो ९२० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । भन्सार क्षेत्र पार गरी टनेल हुँदै बाहिर निस्कने क्रममा उक्त गाँजा बरामद गरिएको हो ।
पक्राउ परेका सञ्जीवलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।








