नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदै छ। उद्घाटनमा पाँच लाख सहभागी हुने एमालेले दाबी गरेको छ। त्यसका लागि नेता कार्यकर्ता चितवन पुग्ने क्रम जारी छ। महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन्। प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदैछन्।
प्रतिनिधिमा २०९ जना दलित, उत्पीडित र ६२७ जना महिला रहेको एमाले प्रचार विभाग योगश भट्टराईले जानकारी दिए। कूल प्रतिनिधि सङ्ख्याको ३० प्रतिशत महिला, १० प्रतिशत हाराहारी दलित, उत्पीडित रहेको उको भनाइ छ। महाधिवेशनमा सल्लाहाकार १५ सहित पाका–पुराना १०३ जना परिवेक्षक रहन हुनेछ। उद्घाटन सत्रका दिन पाँच हजार स्वयंसेवक परिचालन हुने छन्।
महाधिवेशनमा प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भट्टराईका अनुसार भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राजनैतिक दलका प्रतिनिधि आउने छन्। चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन्। कोरोनाका कारण धेरै देशबाट पाहुनाहरु उपस्थित हुन नसकेको सो अवसरमा जानकारी दिइएको थियो।
उद्घाटन सत्रपछि मङ्सिर ११ गते बिहान ८ः३० बजेदेखि सौराहामा बन्दसत्र सुरु हुने छ। अध्यक्ष मण्डल र माइन्युट कमिटि बनिसकेका छन्। बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली र विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही दिन उम्मेदवारी दर्ता, दावी विरोध र फिर्ता समेतको प्रक्रिया सकेर साँझ ६ बजे अन्तिम नामावली प्रकाशित गरिने छ। मङ्सिर १२ गते बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ । मतदानका लागि १०० वटा भोटिङ मेसिन तयार गरिएको छ । तीमध्ये ९० वटामा मतदान गरिने छ भने १० वटा जगेडाका रूपमा राखिने छ। सोही दिन साँझसम्ममा मत परिणाम आउने उनले जानकारी दिए।
मङ्सिर १३ गते पार्टीका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न हुनेछ । महाधिवेशन सम्पन्न गर्न रु सात करोड ५० लाख खर्च हुने र सो रकम एमालेकै नेता कार्यकर्ताबाट सङ्कलन भएको पार्टी प्रचार विभाग प्रमुख भट्टराईले बताए। महाधिवेशन सकिए लगत्तै नेकपा एमाले निर्वाचनको तयारीमा जुट्ने छ।





