शेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन नै घटेको छ । ११ बजे खुलेको बजार ७२.३० अंकले घटेर ३ बजे बन्द भएको छ। पछिल्लो साता नेप्से परिसूचकमा मौद्रिक नीतिको प्रभावले निरन्तर गिरावट आइरहेको छ। सेयर लगानीकर्ता मौद्रिक नीतिको समीक्षामा ४-१२ करोड सेयर धितोकर्जाको सीमा परिवर्तन हुने आशामा थिए।
तर, मौद्रिक नीतिको समीक्षाले ४-१२ करोडको सीमा परिवर्तन नभएपछि यसको प्रभाव आइतबारदेखि सेयर बजारमा परेको बताइएको छ। आइतबार कुल ६० हजार ८८ पटक २२६ कम्पनीको कारोबार भएको छ। यस कारोबारबाट ८९ लाख २० हजार ८ सय ९४ कित्ता शेयर किनबेच भएको छ।
यस्तै, आइतबार ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३ सय २५ को कारोबार भएको छ। कारोबारमा रहेका सबै समूहको परिसूचक ओरालो लागेको छ। यसमध्ये वित्त, व्यापार, लगानीसहितका क्षेत्रमा रहेका कम्पनीको मूल्यमा सबैभन्दा धेरै घटेको छ।





