Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

आजदेखि कोरोनाविरुद्ध अतिरिक्त खोपको मात्रा दिइँदै, को–कसले पाउँछन् ?


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोरोनाविरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई दिने भएको छ । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। उनले अहिले लगाइरहेका खोप केन्द्रबाट नै लक्षित वर्गलाई अतिरिक्त खोपको मात्रा दिन लागिएको बताए ।

मन्त्रालयले बालबालिकाले लगाउने खोप केन्द्रबाहेक सबै खोप केन्द्रबाट अतिरिक्त खोपको मात्रा दिइने जनाएको छ । बालबालिका बाहेकका जहाँ जहाँ खोप केन्द्र सुरु भएको छ, अतिरिक्त खोप लगाउनका लागि लक्षित वर्गले चिकित्सकको सिफारिस तथा खोपको दुईवटा मात्रा लगाएको कार्ड लगेर जानुपर्ने छ । थप एउटा अतिरिक्त मात्रा खोप बुस्टर डोज नभई कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिलाई दिइने अधिकारीले बताए।

कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एउटा मात्रा खोप दिन लागेको हो । मन्त्रालयले मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी सङ्क्रमण भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको अतिरिक्त मात्रा दिन लागेको हो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार