Logo
१९ भाद्र २०८३, शुक्रबार
|  Fri Sep 4 2026

स्पेनिस सुपरकपः बार्सिलोनालाई पराजित गर्दै रियल म्याड्रिड फाइनलमा


बार्सिलोनालाई पराजित गर्दै रियल म्याड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ। अतिरिक्त समयमा बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै रियल फाइनल प्रवेश गरेको हो। साउदी अरेबियास्थित किंग फवाद स्टेडियममा भएको खेलमा रियल म्याड्रिडले खेलमा निरन्तर अग्रता बनाएको थियो। खेलको २५ औं मिनेटमा भिनियस जुनियरको गोलमार्फत रियले अग्रता बनयो। जुनियरले करिम बेन्जमाको पासलाई सदुपयोग गर्दै टिमका लागि गोलको खाता खोलेका थिए। तर‚ बार्सिलोनालाई पहिलो हाफमै खेलमा फर्काउने क्रममा डि जोङले ४१ औं मिनेटमा बराबरी गोल गरे।

पहिलो हाफ १-१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफमा पुनः रियलले अग्रता लियो। करिम बेन्जमाले ७२ औं मिनेटमा पुनः रियललाई अग्रता दिलाए। उक्त अग्रता पनि अन्सु फातिले ८३ औं मिनेटमा गोल गर्दै खेल पुनः बराबरीमा ल्याए।

निर्धारित समय २-२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। जहाँ फेडेरिको भाल्भरडेले ९८ औं मिनेटमा टिमका लागि निर्णायक गोल गर्दै टिमलाई फाइलमा पुर्‍याए।

अब दोस्रो सेमिफाइनलमा एट्लेटीको म्याड्रिड र एट्लेटिको बिलबाओबीच बिहीबार हुने दोस्रो सेमिफाइनलले फाइनल पुग्ने दोस्रो टिमको तय हुँदै छ। आइतबार उपाधि भिडन्तमा प्रतिस्पर्धा हुने छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार