तेसे लहरको सामना गरिरहेको छिमेकी मुलुक भारतमा दैनिक कोरोना संक्रमितको संख्या झण्डै साढे २ लाख पुग्न लागेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ४१७ जना नयाँ संक्रमित थपिएका छन् । जुन संख्या मंगलबारको तुलनामा २७ प्रतिशतले बढी हो ।
भारतमा १० दिनको अवधिमा कोरोना संक्रमितको संख्या ६ गुणाले बढेको भारतीय समाचार माध्यमले जनाएका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर ८४ हजार ८२५ जना निको भएको र ३८० जनाको मृत्यु भएको पनि समाचारमा उल्लेख छ ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या बढेर ११ लाख १७ हजार ५३१ पुगेको छ भने दैनिक पोजिटिभिटी दर १३.११ प्रतिशत पुगेको छ । त्यस्तै, कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ५ हजार ४८८ पुगेको छ ।




