इंग्ल्यान्डविरुद्धको टी-२० शृंखलाको अन्तिम तथा निर्णायक खेलमा वेस्ट इन्डिजका बलर जेसन होल्डरले कीर्तिमान बनाएर टीमलाई जिताएका छन् । होल्डरले अन्तिम ओभरमा लगातार चार बलमा इंग्ल्यान्डका चारजना ब्याट्स्म्यानलाई आउट गरे ।
१७ रनको यस जीतसँगै वेस्ट इन्डिजले ३–२ ले शृंखला हात पारेको छ । वेस्ट इन्डिनजले बनाएको १७९ रन पछ्याइरहेको इंग्ल्यान्ड १९.५ ओभरमा १६२ रनमा अलआउट भयो । पाँच म्याचको शृंखलामा दुवै टीमले प्रतिस्पर्धात्मक खेल खेले ।
अन्तिम खेलको अन्तिम ओभरमा जीतका लागि इंग्ल्यान्डले २० रन बनाउनुपर्ने थियो । तर होल्डरले दोस्रो, तेस्रो, चौथो र पाँचौं बलमा विकेट लिएर वेस्ट इन्डिजलाई जिताए ।
होल्डर चार बलमा चार विकेट लिने वेस्ट इन्डिजका पहिलो बलर बनेका छन् । यसअघि अफगानिस्तानका राशिद खान, श्रीलंकाका लसिथ मलिंगा र आयरल्यान्डका कर्टिस काम्परले यो कीर्तिमान बनाएका छन् ।






