Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

हाम्रो मागको सम्बोधन नभएसम्म संसदकाे अवरोध हट्दैन: एमाले


नेकपा एमालेले आफ्ना मागको सम्बोधन नभएसम्म प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्ने चेतावनी दिएको छ। आफ्नो पार्टीबाट अलग भएका १४ सांसद बर्खास्त नगरेसम्म लगातार संसद बैठक अवरुद्ध पार्ने एमालेले चेतावनी दिएको हो।

एमालेका महासचिव शंकर पोखरेलले आज सामाजिक सञ्जालमा लेखेका छन्, ‘जबसम्म प्रतिनिधिसभाको अवरोधका विषयमा नेकपा एमालेको मागको सम्बोधन हुदैन तबसम्म अन्य एजेण्डामा सहभागी हुने कुरा छैन। भ्रम नछरौँ।’

एमालेले सभामुखलाई बर्खास्त गरे एमसीसी पास गर्ने शर्त अघि सारेको भन्ने समाचार आएपछि महासचिव पोखरेलको यस्तो अभिव्यक्ति आएको हो। एमालेले निष्कासन गर्ने निर्णय गरेकामध्ये माधवकुमार नेपालकै नेतृत्वमा अहिले नेकपा (एकीकृत समाजवादी) दल दर्ता भएको छ र त्यसविरुद्ध एमालेले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ।

एमालेले सभामुखको निष्पक्षतामै प्रश्न उठाएर उनको राजीनामा माग्दै सदन अवरोध गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार