आउँदो वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनको तयारीबारे दुई मन्त्री छलफलमा जुटेका छन्। गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेष गरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी)का लागि अत्यावश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव डा. भिष्मकुमार भूसालले जानकारी दिए।
सहसचिव डा. भूसालका अनुसार अब गृह मन्त्रालयले बिहीबारसम्म चालूतर्फको समेत बजेट एकीन गरेर अर्थ मन्त्रालयमा पठाउने छ । गृहमन्त्री खाणको पहलमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, योजना महाशाखा प्रमुख डा. भूसालसहित सम्बन्धित महाशाखाका कर्मचारीहरू सहभागी थिए ।
गृहमन्त्री खाणले अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको भन्दै नभइ नहुने विषयबस्तुबारे अबगत गराइने बताएका थिए। नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाणले अर्थसँग छलफल गरेका हुन्।








