सभामुख अग्नीप्रसाद सापकोटाबिरुद्ध महाअभियोग लगाउँने तयारीमा नेकपा एमाले जुटेको बुझिएको छ । एमाले उच्च स्रोतले दिएको जानकारी अनुसार आज बस्ने एमाले संसदीय दलको बैठक लगत्तै महाअभियोग दर्ताको प्रकृया अघि बढ्ने सम्भावना छ ।
सभामुख अग्नीप्रसाद सापकोटाले आज बोलाएको सर्वदलीय बैठक समेत बहिष्कार गरेको नेकपा एमालेले संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन समेत दिइसकेको छ । आइतबार राती एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको एमाले सचिवालय बैठकमा यसबारे विस्तृतमा कुराकानी नभएपनि ओलीको निर्देशनमा महासचिव शंकर पोखरेल लगाएतका केही नेताहरु सांसदहरुको हस्ताक्षरमा नै जुटिसकेको बुझिएको छ ।
एमालेले कारबाही गरेका माधव नेपाल सहितका १४ सांसदलाई सभामुखले संसदमा प्रवेश गर्न दिएको भन्दै चिढिएको एमालेले सभामुखलाई बहिष्कार गर्दै आएको छ ।
प्रधानन्यायाधीश बिरुद्ध सत्तारुढ गठबन्धनले महाअभियोग प्रस्ताव दर्ता गरेपछि झस्किएको एमालेले गठबन्धनलाई काउण्टर दिन सभामुखविरुद्ध महाअभियोग दर्ता गर्न लागेको हो । यसको पूर्व संकेत एमाले उपमहासचिव विष्णु रिमालले आइतबार नै सामाजिक सञ्जाल मार्फत दिइसकेका थिए । सत्ता गठबन्धनले महाअभियोगको सिलसिला शुरु गरेको भन्दै सत्ता गठबन्धनप्रति रिजालले कटाक्ष गरेका थिए ।








